विराटनगर । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सरकारले वि.सं २०७३ मा नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । यसपछि हरेक वर्षको वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाइन्छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आइतबार बिहान जारी विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेशभित्रका क्रियाशील अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’मार्फत सम्मान गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्रणवायु हो, यही कुरालाई हृदयङ्गम गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधान २०७२ मा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ ।”
संवैधानिकरूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि कोशी प्रदेश सरकार प्रतिबद्ध र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली पत्रकारिताले सूचना प्रविधिमा आएको विकाससँगै रेडियो, टेलिभिजन हुँदै अनलाइनमार्फत आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यसरी आफ्नो भूमिका निर्वाह गरिरहँदा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी हुन्छ, मुख्यमन्त्री कार्कीले विज्ञप्तिमा लेखेका छन् ।
नागरिकलाई सुसूचित गराउन सरकारभन्दा स्वतन्त्र प्रेसको भूमिका बढी हुन्छ, सरकारलाई पहरेदारी गर्न राष्ट्रिय पत्रकारिता दिवसले नेपाली प्रेस जगत्लाई थप प्रेरणा र हौसला प्रदान गरोस् भन्दै पुनः यस अवसरमा मुख्यमन्त्री कार्कीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।