काठमाडौं । देशमा चरम आर्थिक मन्दी रहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महँगी भत्तास्वरुप आफ्ना कर्मचारीहरुलाई ६० लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।
सरकारले चालू खर्च मात्र होइन पुँजीगत खर्च पनि घटाइरहेको बेला अख्तियारले भने चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्म महँगी भत्तास्वरुप आफ्ना कर्मचारीलाई ६० लाख ३४ हजार रुपैयाँ वितरण गरेको हो ।
दोस्रो त्रैमासिकसम्ममा महँगी भत्तास्वरुप ५३ लाख ६३ हजार रुपैयाँ वितरण गरेको अख्तियारले तेस्रो त्रैमासिक अर्थात् माघ, फागुन चैतमा मात्रै छ लाख ७० हजार रुपैयाँ वितरण गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले चालू आर्थिक वर्षका लागि महँगी भत्ता वितरण गर्न ८४ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । जसअनुसार तेस्रो त्रैमासिक अवधिमा ४७ लाख तीन हजार रुपैयाँ निकासा भएको अख्तियारले जनाएको छ । अन्य भत्ता शीर्षकमा तेस्रो त्रैमासिकसम्म आइपुग्दा ९० हजार रुपैयाँ वितरण गरेको देखिन्छ । प्रशासनिक खर्चअन्तर्गत वितरण गरिने महँगी भत्तास्वरुप रकम वितरण गरेको अख्तियारको भनाइ छ ।
रकम वितरण गर्ने क्रममा अख्तियारले कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा करोडौँ रकम खर्च गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म अख्तियारले कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा ११ करोड ७१ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । दोस्रो त्रैमासिकसम्ममा कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा १० करोड २६ लाख ३३ हजार रुपैयाँ वितरण गरेको अख्तियारले तेस्रो त्रैमासिकमा मात्रै एक करोड ४४ लाख ४१ हजार रुपैयाँ वितरण गरेको हो ।
चालू आर्थिक वर्षको लागि कर्मचारी प्रोत्साहन तथा पुरस्कार वितरणका लागि भनेर अख्तियारले १९ करोड ५९ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू पुँजीको यस प्रकारको खर्चमा सरकारले मितव्ययिता अपनाउन नसक्दा ठूलो रकम खर्च भइरहेको पाइन्छ । अर्कोतर्फ यस्तो खर्चले नागरिकलाई कुनै किसिमको राहत पु¥याउने देखिँदैन । सरकारले पछिल्लो समय वैदेशिक ऋण लिएर समेत चालू खर्च सञ्चालन गर्ने परिपाटी रहेको हुँदा पोशाक, महँगी भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, अन्य भत्ता लगायतका खर्चमा कम गर्नुपर्ने स्थिति छ । तर अख्तियारको यो तथ्यांकले अझै पनि सरकारी अधिकारीहरु देशको अर्थतन्त्रप्रति चिन्तित छैनन् भन्ने प्रस्ट हुन्छ । पोशाक, महँगी भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कारलगायतका शीर्षकमा अनावश्यक बजेट विनियोजन गरी वितरण गर्नु दुःखद भएको अख्तियारकै पूर्वअधिकारीहरुले बताएका छन् । मुलुक अहिले आर्थिक संकटतर्फ उन्मुख भएकाले यस्तो समयमा चालू खर्च अर्थात् अनावश्यक शीर्षकको खर्च कटौतीमा स्वयं सरकार र कर्मचारी लाग्नुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको भनाइ छ ।
यस्तै चैत मसान्नतसम्म अख्तियारले भ्रमणतर्फ ८५ लाख ३७ हजार रुपैयाँ, अन्य भ्रमणतर्फ ४९ लाख १३ हजार रुपैयाँ, विविध कार्यक्रमतर्फ ४३ लाख ९५ हजार रुपैयाँ, सञ्चार महसुलतर्फ २८ लाख १३ हजार रुपैयाँ, कर्मचारी तालिमतर्फ १७ लाख ५९ हजार रुपैयाँ, सेवा तथा परामर्शतर्फ १९ लाख ५० हजार रुपैयाँ र पानी तथा बिजुलीतर्फ १६ लाख एक हजार रुपैयाँ खर्च गरेको छ ।
मसलन्द र इन्धनमा अख्यिारले क्रमशः एक करोड ९० लाख ८७ हजार रुपैयाँ, एक करोड ६१ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । यो शीर्षकमा पनि ठूलो रकम खर्च भएको देखिन्छ । अति आवश्यकबाहेक भ्रमण, अन्य भ्रमण र विविध कार्यक्रमलगायतका शीर्षकमा रकम कटौती गर्ने सरकारको निर्णयविपरीत खर्च गरेको स्पष्ट देखिन्छ । सरकारी अधिकारीहरुकै अनुसार सरकारले खर्च कटौतीको निर्णय गरे पनि आवश्यकबाहेकका विभिन्न शीर्षकमा सरकारी निकायहरुले खर्च गर्दै आएका छन् ।
अख्तियारले मात्रै तेस्रो त्रैमासिकसम्म प्रशासनिक खर्चस्वरुप ४२ करोड ४० लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । तेस्रो त्रैमासिकमा मात्रै भने छ करोड १८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षको प्रशासनिक खर्चका लागि अख्तियारले ६६ करोड ९१ लाख २० हजार रुपैयाँ विनियोजन गरेको थियो ।