सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि संघीय राजधानी काठमाडौंसम्मको जिप भाडादर २० प्रतिशतले घटाइएको छ । जिल्ला प्रशासन कार्यालयले जनप्रतिनिधि र यातायात व्यवसायीसहितको बैठकले भाडा घटाइएको हो ।
यसअघि दुई हजार तीन सय ७५ रूपैयाँ रहेको सल्लेरी–काठमाडौं जिप भाडादर २० प्रतिशत घटाउँदै एक हजार नौ सय कायम गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । इन्धनको मूल्य घटे पनि वर्षौँअघि तोकिएको सवारी भाडा कायम हुँदा यात्रु मर्कामा परेको भन्दै प्रशासनले भाडा समायोजन गरेको हो । समायोजित जिप भाडादरअनुसार सल्लेरी–विराटनगर दुई हजार एक सय ७० रूपैयाँ निर्धारण गरिएको छ । यसअघि सल्लेरी–विराटनगर दुई हजार पाँच सय रूपैयाँ रहेको थियो । यस्तै सल्लेरी–धरान दुई हजार चार सय रूपैयाँबाट घटाएर दुई हजार एक सय २० रूपैयाँ, सल्लेरी–कटारी एक हजार आठ सय रूपैयाँबाट घटाएर एक हजार चार सय ६० रूपैयाँ र सल्लेरी–ओखलढुंगा सात सय रूपैयाँबाट घटाएर पाँच सय रूपैयाँ निर्धारण गरिएको छ ।
बैठकले स्थानीय तहसँगको समन्वयमा जिल्लाभित्र सञ्चालन हुने जिपको भाडा पनि समायोजन गरेको छ । सल्लेरी–छेस्काम एक हजार आठ सय रूपैयाँबाट घटाएर एक हजार चार सय रूपैयाँ, सल्लेरी–सोताङको एक हजार तीन सय रूपैयाँबाट घटाएर नौ सय रूपैयाँ कायम गरिएको छ । जिल्लाभित्रका लागि सञ्चालित सवारी भाडाको हकमा सोलुदूधकुण्ड नगरपालिकाबाहेक अन्य सबै पालिकाको भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । उक्त भाडादर पालिकाले सिफारिस गरेको आधारमा कायम गरिएको हो । नगरपालिकाले भाडादर सिफारिस गर्न नसकेको भट्टराईले बताए । यद्यपि समायोजन गरिएको नयाँ भाडादर वैशाख २५ गतेबाट लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इन्धनको मूल्य १० रूपैयाँसम्म घटबढ भएको खण्डमा समेत उक्त भाडादर नै यथावत् रहने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको जिल्ला भाडादर निर्धारण समितिको बैठकमा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङ, थुलुङ दुधकोशी गाउँपालिका सातका वडाध्यक्ष भोजराज कार्की, यातायात व्यवसायी समिति, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।