काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्नै सञ्चालक पदाधिकारीहरू, कर्मचारीहरू, सेयरधनीहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूको साथ सहयोगका कारण नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी बन्न सकेको बताए । उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै समय सुहाँउदो योजना ल्याउने जनाए ।
इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सका अनुसार रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको वीरगञ्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल तीन सय १० पिन्ट रगत संकलन भएको छ ।
‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसात् गर्दै इन्स्योरेन्सले २२ वर्षदेखि जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको छ । इन्स्योरेन्सले २०७९ चैत मसान्तसम्ममा एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमाकोष करिब एक खर्ब ५८ अर्ब रुपैयाँले सञ्चितमा छ । इन्स्योरेन्सले देशभर फैलिएका आफ्ना एक सय ९२ कार्यालयमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।