काठमाडौं । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताएकी छिन् ।
युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गरिन् ।
मन्त्री शर्माले भनिन् “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।”
हिजोको तुलनामा धेरै हिसाबले प्रेस स्वतन्त्रता सुनिश्चित रहेको बताउँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारका लागि मात्र नभई हरेक मानिसका लागि आवश्यक विषय भएको धारणा राखिन् ।
मन्त्री शर्माले भनिन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । हामीले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामै उल्लेख गरेका छौँ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ ।”