काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन अध्ययन समिति गठन गरेको छ । बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको प्रतिनिधित्व गरेका सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सञ्चालक समितिका विज्ञ सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य–सचिवमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहाल छिन् ।
समितिले तीन महिनाभित्रै एनआरएनलाई पुँजीबजारमा भित्र्याउने विषयमा अध्ययन गर्नेछ । अध्ययन प्रतिवेदनअनुसार नै नियमावली बनाइने बोर्डले जनाएको छ ।
अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा समेत समितिले नै तयार गर्नेगरी जिम्मेवारी दिएको हो । समितिले नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाइलाई पहिचान गरी आवश्यक कार्यविधि तयारी गरी सिफारिस गर्नेछ ।
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गर्न दिएपछि बजारमा लगानीकर्ताको संख्या बढ्ने, कारोबार बढ्ने, मागपक्ष बलियो हुने र मूल्य जोखिम कम हुने विश्वास बोर्डले लिएको छ ।