काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत गरिएको थियो ।
नगरपालिकाको विशेषज्ञ सेवाअन्तर्गत डा. नरेन्द्र मैनालीले प्रत्येक महिना एक सयभन्दा बढी बिरामीहरुको चेकजाँच गर्दै आएका छन् । यस कार्यक्रम तेस्रो महिनासम्म आइपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्यसम्बन्धी चेकजाँच तथा निःशुल्क औषधि वितरणकार्य हुँदै आइरहेको छ । यसका साथै बालबालिकाहरुको मानसिक रोगसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ । हालसम्म एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिकाहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । एक सय ६४ जना मानसिक रोगीहरुको स्वास्थ्य जाँच गरी १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीहरुको पहिचान गरी थप उपचारका लागि सिफारिस गरिएको बताइएको छ ।
यस कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्ने विशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनाली, डा. ज्योति भट्टराई, डा. अमित झा, सिबिन नेपालका तर्फबाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकीलगायत सम्बद्ध सबै पक्षलाई नगरपालिकाले धन्यवादज्ञापन गरेको छ ।