काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म देशको शोधनान्तर स्थितिमा सुधार हुँदै गएको छ । गत आर्थिक वर्षको चैतमा दुई खर्ब ६५ अर्ब रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष चैतमा एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कअनुसार शोधनान्न्तर स्थितिमा सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई अर्ब २५ करोडले घाटामा रहेकाके शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३७ करोडले बचतमा रहेको छ ।
आयात प्रतिबन्ध फुकुवा भए पनि बजारमा माग पक्ष कमजोर हुनु र रेमिट्यान्स आप्रवाह बढ्दै गएका कारण शोधनान्तर स्थितिमा सुधार हुँदै गएको देखिएको हो ।
कोभिड महामारीको असर र रुस युक्रेन युद्धका कारण गत आर्थिक वर्षदेखि नेपालको बाह्य क्षेत्र दबाबमा थियो । यही कारण गत वर्षदेखि शोधनान्तर घाटामा थियो । तर सरकारले वैशाख दोस्रो सातादेखि केही विलासी वस्तुको आयात प्रतिबन्ध गरेका कारण आयात खुम्चियो, डलरको मूल्यमा भएको वृद्धिले रेमिट्यान्स आप्रवाह बढेका कारण चालू आर्थिक वर्षको तेस्रो महिनादेखि शोधनान्तर बचतमा छ । शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो ।
बढ्यो रेमिट्यान्स : चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा वृद्धि भएको छ । वैदेशिक रोजगारमा जानेहरुको संख्यामा वृद्धि हुनु र अमेरिकी डलरको मूल्य बढेका कारण रेमिट्यान्स आप्रवाह बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क अनुसार चैत मसान्तसम्म नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव दुई प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा रेमिट्यान्स आम्दानी १३ दशमलव नौ प्रतिशतले बढेर छ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव आठ प्रतिशतले घटेको थियो ।
विदेशी विनिमय सञ्चिति : रेमिट्यान्स आप्रवाहमा आएको वृद्धिले विदेशी विनिमय सञ्चिति पनि बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबरको कुल विदेशी विनिमय सञ्चिति रहेकामा चैतमा १७ दशमलव नौ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा चैत मसान्तमा १४ दशमलव आठ प्रतिशतले बढेर १० अर्ब ९४ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २० दशमलव छ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ चैत मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव एक प्रतिशत रहेको छ ।
११ महिनाको वस्तु आयात धान्ने : आर्थिक वर्ष २०७९/०८० को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र नौ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६ दशमलव छ प्रतिशत, ७८ दशमलव नौ प्रतिशत र २४ दशमलव चार प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४ दशमलव छ प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेका थिए ।
सेवा आय घाटामा : खुद सेवा आय घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार खुद सेवा आय ५६ अर्ब २६ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७९ अर्ब २८ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९४ दशमलव तीन प्रतिशतले वृद्धि भई ४४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय
२२ अर्ब ७३ करोड रुपैयाँ रहेकाके छ ।
नेपाल भ्रमण गर्न आउने पर्यटकले भन्दा नेपालबाट बाह्य मुलुक भ्रमणमा जाने पर्यटकले गर्ने खर्च बढी छ । राष्ट्र बैंकका अनुसार भ्रमण व्यय ३९ दशमलव आठ प्रतिशतले बढेर ९१ अर्बृ ६० करोड पुगेको छ । यसमध्ये शिक्षा तर्फको व्यय ६७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षृको सोही अवधिमा भ्रमण व्यय ६५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा शिक्षा तर्फको व्यय ४३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।
मूल्यवृद्धि : राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति सात दशमलव २८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको आठ दशमलव ४२ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४ दशमलव ६८ प्रतिशत, मरमसलाको १४ दशमलव ६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाड्ढ १० दशमलव ३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव ७४ प्रतिशत र शिक्षाको आठ दशमलव ६७ प्रतिशतले बढेको छ ।