काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा दिउँसो दुई बजे बस्ने बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहसँग संलग्न भएको आरोपमा खाँणलाई बुधबार उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।
यस बारेमा देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेन । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् ।