काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् ।
दोलखा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व. पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभइ सिङ्गो दोलखामा उनको भूमिका र योगदान उच्च रहेको बताए । उनले भ्रष्टाचार निर्मुल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो दिलु पन्तले कार्यक्रममा बोल्दै चौलागाई सरल र सादगी नेता रहेको बताए । उनले नक्कली शरणार्थी अनुसन्धानमा सत्यतथ्य सार्वजनिक गर्न सहयोग गर्ने उद्देश्यले आफ्नो पार्टीले आज देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।
चौलागाइँ सामाजिक विकास तथा आर्थिक व्यवस्थापनमा पारदर्शी रहेको आदर्श नेताका रूपमा नयाँ पुस्ताले सम्मान गर्नुपर्ने पोलिटब्यूरो सदस्य शिव भण्डारी, पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताले बताएका छन् । दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीले मुलुकको राजनीतिक विकास क्रममा चौलागाइँको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
भएका चौलागाईँ तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य थिए भने दुई कार्यकाल दोलखाको सभासद् भएका थिए । उनको दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन भएको थियो ।