विदुर । बिहीबार विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्तामा सरकारले पूर्णता पाउनेछ”, उनले भने ।
“अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ । प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन । साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालन गर्ने छौं”, मुख्यमन्त्री जममकट्टेलले भने ।
मुख्यमन्त्री जमकट्टेलले सङ्घीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूर्ण योजना सञ्चालन गरिरहेको बताए ।
“कृषिमा व्यक्ति केन्द्रित र पहुँच केन्द्रित अनुदान वितरण हुँदै आएको छ । अब त्यस्तो अनुदान बन्द गर्दैछौँं”, उनले भने, “समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेका छौँ । आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुनेछ ।”