काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीका साथै वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरेसँगै आन्तरिक रोजगारी सीप विकासका साथै वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा आएको हो । स्वीकृत कार्यविधिअनुरुप वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई उनीहरुले वैदेशिक रोजगारीबाट प्राप्त गरेको सीप, पुँजी र प्रविधिलाई उनीहरुको हित वा राष्ट्रको हितमा प्रयोग गर्ने वा उनीहरुलाई आर्थिक, सामाजिक र पारिवारिक रुपमा पुनर्मिलन वा पुनस्र्थापना वा एकीकरण गर्ने कार्य हुने उल्लेख गरिएको छ ।
यसैबीच नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवर्द्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिमा सहजीकरण लगायतका श्रम तथा रोजगारीसम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृत रुपमा प्रदान गर्न एकीकृत श्रम तथा रोजगार सेवा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरी लागू गरिएको मन्त्रालयले बताएको छ ।
कार्यविधिअनुसार स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत श्रम बजार सम्बद्ध सूचनाको संकलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन, सीप र क्षमताको अन्तर्विश्लेषण गरी रोजगारोन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्श, वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुनः एकीकरण, स्वरोजगारका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माणमा सहयोग, श्रम र रोजगारसम्बन्धी तहको माग र आवश्यकताअनुसार सञ्चालन गरिनेछ ।
उत्पादनशील रोजगार सिर्जना गर्न सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य तथा साझेदारी गरिनेछ । साथै श्रम बजारमा रोजगारीको प्रवर्द्धन तथा विस्तार गर्न आवश्यकता र मागको आधारमा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रलाई नमूना रोजगार सेवा केन्द्रको रुपमा सञ्चालन गर्न सकिने व्यवस्था समेत कार्यविधिमा छ ।
कार्यविधिको कार्यान्वयनपश्चात् नागरिकले श्रम र रोजगारसम्बन्धी सबै सेवाहरु आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्षम हुने विश्वास लिइएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । कार्यविधिले सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवद्र्धन, वैदेशिक रोजगारीका विविध पाटोलाई सहजीकरण गरेको कारण रोजगारको खोजीमा रहेका व्यक्तिले वैयक्तिक दर्ता, महिलाका लागि सीप तथा रोजगारीलगायतका विषयहरुको व्यस्थापन गरेको छ ।
रोजगार सेवा केन्द्रले न्यूनतम रोजगारीका लागि सूचीकृत बेरोजगारका अतिरिक्त रोजगारको खोजीमा रहेका वा हाल कायम रहेको रोजगारीमा परिवर्तन गर्न चाहने जुनसुकै रोजगारीमा संलग्न हुन चाहने व्यक्तिले श्रम बजारमा उपलब्ध रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारी समेतका लागि आफूले काम गर्न चाहेको क्षेत्र, पेशा, व्यवसायलगायतका विवरणको ढाँचामा वैयक्तिक विवरण दर्ता गर्नुपर्नेछ । महिलाको हकमा भने महिलालक्षित रोजगारीका लागि तयारी क्लबको सञ्चालन गर्नुपर्ने ः महिलालाई श्रम बजारमा प्रवेश वा पुनः प्रवेश गराउन आवश्यक सीप तथा क्षमता विकास गर्न, परामर्श तथा मार्गदर्शन उपलब्ध गराउन रोजगार सेवा केन्द्रले रोजगारीका लागि तयारी क्लबको सञ्चालन गर्न व्यवस्था गरिएको छ । बजेटको व्यवस्थापनको जिम्मेवारी स्वयं मन्त्रालयलाई नै तोकिएको छ ।