सोलुखुम्बु,चैत २५
वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । थुलुङ दुधकोसी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । परीक्षण गरिएको तीनै जनाको रिपोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरूको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा नम्बर ८ देउसाका सूर्य राई फ्लाइ दुवईबाट, सोही दिन हिमालयन एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सूर्य राई र चैत ७ गते नेपाल एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए ।
उनीहरूलाई गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाइनमा राखिएको अध्यक्ष राईले बताए । यस्तै वैदेशिक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले सेल्फ होम क्वारेनटाइनमा बसेका छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ । यसअघि कोरोना संक्रमित युवतीसँगै आएका गाराखानीका युवक र तिङ्लाकी युवतीको काठमाडौँको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरूको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । जिल्लाबाट अहिलेसम्म स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।