काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ । शुक्रबार सिंहदरबारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ । तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’