सुर्खेत/भेरीगंगा । जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न कर्णाली प्रदेश सरकारले अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताएका हुन् ।
मन्त्री विसीले भने, “अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।”