मोरङ । आज राति दुई बजेदेखि मोरङको बूढीगङ्गा(५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकहरुले अनुमान गरेका छन् ।
मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी गराएको छ । आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।