काठमाडौँ । एमाले सांसद टोपबहादुर रायमाझी आइतबार साँझ प्रहरी पुग्दा बूढानीलकण्ठस्थित पासिकोटमा आफन्तको घरमा लुकेर बसेका थिए । प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्युरो’ले उनलाई निगरानी गरिरहेको थियो ।
उनी वैशाख ३० गतेको साँझ मात्र काठमाडौँ आइपुगेका थिए । आइतबार साँझ ब्युरोको टोली टोपबहादुर बसेको घरमा पुगी रायमाझीलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
पक्राउ पछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षण गर्ने बेला चिकित्सकसँग रायमाझीले भनेका थिए, ‘एक गिलास बियर लिएको छु ।’ उनलाई प्रहरीले म्याद थपको लागि दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।