काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । म्याद थपका लागि रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
नेकपा (एमाले) ले यसअघि नै रायमाझीलाई आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेकामा हालसम्म तीनै जना फरार रहेकाले खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।