इरानको एक प्रमुख ग्यास उद्योगमा मजुरको हड्तालको नेतृत्व गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले आइतबार साउद पार्स परियोजनामा कामदारको हडतालको नेतृत्व गर्ने आठ जनालाई गुप्तचर निकायले पक्राउ गरेको जनाएका छन् । यो कतारसँगको साझेदारीमा सञ्चालित विश्वको सबैभन्दा ठूलो ग्याँस उत्पादन उद्योग हो । साउथ पार्स÷नर्थ डोम मेगा फिल्डमा करिब ४० हजार मानिसले काम गर्छन् ।
उद्योगमा हड्ताल गर्न उक्साएको आरोपमा त्यहाँको सरकारले विभिन्न आठ कम्पनी र सबकन्ट्रयाक्टरलाई कालोसूचीमा राखेको छ । श्रमिकहरु राम्रो ज्याला र काम गर्ने वातावरणको माग गर्दै हडतालमा उत्रिएका थिए । सो ग्यास उद्योगले हड्तालमा सहभागी चार हजार कामदारहरुलाई प्रतिस्थापन गर्ने बताइसकेको छ । तर पनि श्रमिकहरुले आफ्नो माग जारी राख्दै हड्ताल गर्न छाडेका छैनन् । उनीहरुले आफ्नो ज्याला ७९ प्रतिशतले बढाउन माग गरेका छन् ।