काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमाक्षेत्रको नियामकका रूपमा नेपाल बीमा प्राधिकरणको भूमिकाबारे समीक्षा गर्नुपर्ने बताएका छन् । उनले अहिले पनि पुरातन शैलीमा बीमा कम्पनीहरूको नियमन भइराखेको बताए । सोमबार प्राधिकरणको वार्षिकोत्साव समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
‘पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखेर बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो हुनुपर्छ’, उनले भने । प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे/नगरेको बारे समीक्षा आवश्यक रहेको बताए ।
उनले बीमा कम्पनीको संख्या धेरै भएको भन्दै मर्जरमा लैजान सुझाव दिए । उनले भने ‘यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे–जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए/नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ ।’
सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप धेरै हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा. महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उनले बताए ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तल्लो तहसम्म समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको स्वीकार गरे ।