काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ‘विकास ऋणपत्र २०८५’ बिक्री निष्काशन गरेको छ । जेठ ३ गतेदेखि जारी हुने ऋणपत्रको बोलकबोल आज (मंगलबार) अपराह्न तीन बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारका लागि ऋण उठाउन राष्ट्र बैंकले प्रत्येक साता विभिन्न मौद्रिक उपकरण बिक्री गरी रकम जोहो गर्दै आएको छ । सोमबार ट्रेजरी बिल बिक्री गरी २४ अर्ब ७४ करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
विकास ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।
छुट्याइएको रकममध्ये प्रतिस्पर्धीलाई ८५ प्रतिशत र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई १५ प्रतिशत अर्थात् आठ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ तोकिएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलवालाहरूले कम्तीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिमसम्म दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ । ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गरेर सरकारका लागि आन्तरिक ऋण उठाइन्छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रूपैयाँ र तेस्रो त्रैमासका ८८ अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री गरिसकेको छ ।
चौथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको अन्तरिक ऋण उठाउँदै छ । जसमध्ये ७५ अर्ब रुपैयाँ ट्रेजरी बिल बिक्री गरेर उठाउनेछ भने ६० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्नेछ । यसबाहेक दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएकोे छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँको ट्रेजरी बिल, एक खर्ब रुपैयाँको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँको नागरिक बचत पत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ ।
विकास ऋणपत्र भनेको के हो ?
विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्काशन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।