काठमाडौँ ,चैत २६
नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको समयमा विकास निर्माणको काम गर्न तयार रहेको जनाएको छ । महासंघले सुरक्षा अपनाएर विकास निर्माणका काम गर्न गर्ने वातावरण मिलाउन भने सरकारलाई आग्रह गरेको छ । सरकारले वातावरण बनाइदिएमा काम गर्न तयार रहेको महासंघले जनाएको हो । लकडाउनका कारण विकास निर्माणकार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएमा निर्माण व्यवसायी काम गर्ने पक्षमा रहेको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासचिव दाहालले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । ‘निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौँ रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षाअगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
परियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोना भाइरसको खतरा कम हुने महासंघको ठहर छ । यस्तै, महासंघले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनियर तथा मजदुरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकासँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी रूपमा फैलिँदै गएको नोवल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणको रोकथामका लागि सरकारले यही चैत ११ देखि वैशाख ३ गतेसम्म लकडाउन गरेको छ ।