काठमाडौँ । बुधबार ३० औं मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्व. मदन भण्डारीको नयाँ नेपाल बनाउने सपना अहिले अधुरो भए पनि पूरा गर्न सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले एमालेका तत्कालीन महासचिव समेत रहेका मदन भण्डारीले नयाँ नेपालका लागि थालेको अभियान पुरा गर्न नपाइ नै उनको निधन भएको बताए । ओलीले मदनलाई आदर्श व्यक्तित्वका रूपमा चर्चा गर्दै भने, ‘नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उहाँका उत्तराधिकारीहरुले पुरा गर्नुपर्नेछ ।’
नयाँ नेपाल बनाउने सपना पूरा गर्न सजिलो नभएको ओलीको भनाइ छ । एमालेले लिएको विचार सही भएको भन्दै नेता कार्यकर्ताहरूमा आत्मविश्वास र उच्च मनोबल कायम राख्नुपर्ने उनले बताए । २०५० साल जेठ ३ गते महासचिव भण्डारी र जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको थियो । आजसम्म उक्त घटना रहस्यमय नै रहेको छ ।