काठमाडौं । कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग विहीबार भएको भेटमा भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको बताएका हुन् ।
कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको उनले बताए । छानबिनलाई निष्कर्षमा पु¥याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिएको श्रेष्ठको भनाइ छ ।
सो अवसरमा प्रवास समन्वय समितिले गृहमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ ।
उक्त कार्यक्रममा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वको प्रतिनिधिमण्डलमा सहईन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा. कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।