काठमाडौं । जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले प्रतिनिधि सभाको बिहीबारको बैठकमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने बताएका हुन्।
कार्कीले संसदले २ पटक पारित गरी राष्ट्रपतिकहाँ पठाए पनि नागरिकता विधेयक प्रमाणीकरण नभई रोकिएकोबारे प्रधानमन्त्री प्रचण्डको धारणा मागेका थिए।
‘प्रधानमन्त्री भएको ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्छु भन्नुभएको थियो। तपाईं प्रधानमन्त्री भएको ५ महिना भयो अब एक महिना बाँकी छ,’ उनले भने, ‘यो अवधिमा नागरिकता सम्बन्धी समस्या समाधान गर्नुहुन्छ ?’ उनको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले एक महिनाभित्र यो समस्याको समाधान गरिने बताए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । उक्त विधेयक फेरि अघि बढाउने कि संसदबाट नयाँ विधेयक पारित गरेर राष्ट्रपतिकहाँ पठाउने भन्नेबारे दलहरूबीच मतभेद छ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले उक्त सुझाव सुनाएको उनले बताए। ‘राष्ट्रपतिले पनि नागरिकता विधेयकबारे कानून विदहरूसँग राय लिइरहनुभएको छ, उहाँ अध्ययन प्रक्रियामै हुनुहुन्छ,’ उनले भने। सदनबाट संकल्प प्रस्ताव ल्याएर नागरिकता विधेयक पारित गर्न राष्ट्रपतिलाई आग्रह गर्न सकिने विकल्पसमेत प्रधानमन्त्रीले सुनाए।