काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले काठमाडौंबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र झापाबाट भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ ।
मियाँलाई प्रहरीले बिहीबार दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।
गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ । चितवनको सौराहा र काठमाडौंको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । रिजालले भने पक्राउ परेका एक जनासँग पैसा लिएको प्रहरीले दाबी गरेको छ ।