काठमाडौं । अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको टिमले खारेज गर्न सकिने बोर्ड तथा समितिहरूका विषयमा छलफल सुरू गरेको छ। सरकारले विभिन्न समयमा गठन भएका अनावश्यक बोर्ड तथा समितिहरू खारेजीको तयारी गरेको छ। आगामी आर्थिक वर्षको बजेटलाई धान्ने आम्दानी नपुग्ने भएपछि सरकारले खर्च कटौतीका लागि सरकारी संरचना नै घटाउन लागेको हो।
२०७५ सालमा अर्थविद डिल्लीराज खनालको संयोजकत्वमा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले यस्ता बोर्ड तथा समितिका कारण ठूलो दायित्व राज्यले बेहोरेको भन्दै खारेज गर्न सिफारिस गरेको थियो। तर त्यो सिफारिस कार्यान्वयन हुन सकेको छैन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले खर्च नगरे पनि हुने क्षेत्रहरू पहिचान गरी खर्च घटाउन मन्त्रालयको टिमलाई निर्देशन दिएका छन्। सार्वजनिक खर्च पुनरावलोकन आयोगले अहिलेको संरचनालाई व्यवस्थित गरेर अनावश्यक संरचना हटाउने र कर्मचारी कटौती गर्ने लगायत काम गर्दा चालु खर्चमा ३० प्रतिशत रकम कम गर्न सकिने पहिचान गरेको थियो।
अनावश्यक समिति तथा बोर्ड खारेज गर्ने सवालमा भने निर्मम हुँदै आगामी वर्ष व्यवस्थापन गर्ने रकमबाहेक बजेट विनियोजन नगर्ने तयारी भएको अर्थ स्रोतले जनाएको छ। खारेज गर्ने संस्था तथा बोर्डका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव बैकुन्ठ अर्याल नेतृत्वको टिमले अध्ययन गरिरहेका छन्।
सरकारले यसअघि नै यस्ता समिति तथा बोर्डहरू एकमुष्ट रूपमा खारेज गर्ने र आवश्यक परेको अवस्थामा पुनः स्थापित गर्ने निर्णय गरेको थियो।