काठमाडौं,भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । आरबीआईले शुक्रबार जारी गरेको विज्ञप्तिमा दुई हजार दरका नोटहरु वैध रहने र आगामी सेप्टेम्बर ३०सम्म बैंकमा जम्मा गर्न सकिने वा साटन सकिने उल्लेख छ ।
कुनै पनि बैंक शाखामा एक पटकमा २० हजारसम्म जम्मा गर्न सकिन्छ । आरबीआईले बैंकहरुलाई अबदेखि दुई हजारका नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।सन् २०१६मा पाँच सय र एक हजार दरका नोट बन्द भएपछि दुई हजारका नोट जारी गरेको थियो । तर सन २०१८÷१९ देखि दुई हजारका नोट छाप्न रोकिएको थियो ।
भारतमा अहिले सर्कुलेसनमा रहेका दुई हजार रुपैयाँको नोटको मूल्य ३६ खर्ब ६२ अर्ब हाराहारी रहेको बताइएको छ । कोभिडकाल देखि भारतमा पनि डिजिटल कारोबार बढेकाले खासै असर नपर्ने आरबीआईका अधिकारीहरुले बताएका छन् । तर ठूला नोट नहुँदा साना व्यवसाय, कृषि र निर्माणलगायत नगदको प्रयोग धेरै हुने क्षेत्रहरुलाई असहज हुने निश्चित छ ।
दुई हजारका नोटबन्दी हुँदा सुनलगायतका वस्तुहरु किन्ने होडबाजी बढ्नसक्ने जोखिम रहेको जानकारहरुले टिप्पणी गरेका छन् ।