काठमाडौं,सरकारको लागि नेपाल राष्ट्र बैंकले फेरी ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत उक्त ऋण उठाउन लागेको हो ।
सोमबार बैंकले आज (सोमबार) दिउँसो तीन बजेसम्म बोलकबोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार दुई अर्ब रुपैयाँको नयाँ ऋण उठाइने छ भने ३२ अर्ब २० करोड रुपैयाँको पुरानो नवीकरण हुनेछ ।
ट्रेजरी बिल जेठ नौ गते मंगलबारदेखि जारी हुनेछ । टे«जरी बिल खरिदकालागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको चार अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिन अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिन अवधिको सात अर्ब ५० करोड रुपैयाँ रहेको छ ।गत साता पनि राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो ।