काठमाडौं,ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान)ले दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमीगाउँमा रहेको सिमीगाउँ प्राथमिक विद्यालय र बिगु गाउँपालिका–१ जगतस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
‘सबैका लागि शिक्षा’ सामाजिक कार्यक्रमअन्तर्गत ट्रानले नेपालका विकट ठाउँमा सञ्चालित विद्यालय र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने गरेको छ । सोहीअनुरूप यसपटक ट्रानले दोलखाका दुई विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको हो ।
संस्थाले गत वैशाख २८ गते गौरीशंकर उच्च माध्यमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्मका तीन सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायत वितरण गरिएको बताइएको छ । त्यस्तै, वैशाख २९ गते सिमीगाउँ प्राथमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा पाँचसम्मका ३० विद्यार्थीहरूलाई विभिन्न शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरेको थियो । यसबाहेक विद्यालयलाई दुईवटा कम्प्युटर पनि उपलब्ध गराएको संस्थाले जनाएको छ ।