जापान,अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा रिपब्लिकन पार्टीले राखेको खर्च कटौतीको प्रस्तावको अस्वीकार गरेका छन् । आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि रिपब्लिकन पार्टीले राखेको माग अस्वीकार्य भएको बताएका हुन् ।
राष्ट्रपति बाइडेनले आइतबार स्वदेश फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्काथीसँग कुराकानी गर्ने समेत बताएका छन् । उनले सार्वजनिक ऋणमा अनावश्यक नाटकीयरूपमा विवाद गर्न खोजिएको आरोप समेत लगाएका छन् ।
राष्ट्रपति बाइडेनले रिपब्लिकनहरूले ऋण तिर्ने कानुनी बाटोलाई अवरोध गरी देशलाई आर्थिक संकटतर्फ धकेल्न खोजेको आरोप समेत लगाएका छन् ।उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने गरी अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयास भइरहेको समेत बताए ।
जापानमा आयोजित जी–सेभेन राष्ट्रहरूको शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाए पनि बाइडेन देशमा ऋणको सीमासम्बन्धी विवाद बढ्दै गएपछि भ्रमण रद्द गरी स्वदेश फर्किएका हुन् ।