काठमाडौं,लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही जेठ १६ गतेबाट १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकका अनुसार एक हजार अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
यसरी बिक्री गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको चार लाख कित्ता भने सर्वसाधारणमा बिक्री गरिने छ । सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिनसक्ने बैंकले जानकारी दिएको छ ।
लगानीकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिनसक्ने छन् । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्री कार्य यही जेठ १६ गतेबाट खुल्ला भई छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गते बन्द हुनेछ ।