काठमाडौं,मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना सुरु गर्न नेपालले गरेको पूर्वतयारीप्रति अमेरिकी सरकारका प्रतिनिधि सन्तुष्ट देखिएका छन् ।
काठमाडौंमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एमसीसीको एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सको नेतृत्वले भेट गरी नेपालको पूर्वतयारीप्रति सन्तुष्ट जनाएको हो ।
अर्थमन्त्री महतसँग उक्त टोलीले सोमबार भेटवार्ता गरेको थियो । भेटका क्रममा एमसीसी परियोजनाको विभिन्न पक्षका बारेमा कार्यान्वयनबारे छलफल भएको थियो । उक्त भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।
एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्नेछ । उक्त सहयोगअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा खर्च हुनेछ । टोली नेपालको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन आएको थियो ।
भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रियाजस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको सोमबार साँझ अर्थमन्त्री महतको तर्फबाट जारी प्रेस नोटमा जनाइएको छ । सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको थियो ।
सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास दिएका थिए । साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिबद्धता समेत अर्थमन्त्री महतले जनाएका थिए ।