काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुली हरिहरगढी गाउँपालिका–३ ठेगाना भई काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठलाई आइतबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा छ लाख रूपैयाँ जरिबाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र दुई दिन कैद सजाय ठहर भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
अदालतको उक्त फैसलापछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।