अमुरिका,फेसबुकको माउ कम्पनी मेटालाई युरोपेली युनियन (ईयू)ले प्रयोगकर्ताको व्यक्तिगत विवरणको गोपनीयता हनन गरेको भन्दै जरिबाना गरेको छ । ईयूको प्रमुख गोपनीयता नियामक युरोपियन डाटा संरक्षण बोर्डले मेटालाई हालसम्मकै उच्च १.२ अर्ब यूरो (१.३ अर्ब अमेरिकी डलर) जरिबाना गरेको हो ।
बोर्डले मेटालाई प्रयोगकर्ताको डाटा अमेरिका पठाउने कार्य रोक्न पाँच महिनाको समय दिएको छ । मेटाले प्रयोगकर्ताको तथ्यांक अमेरिका पठाएपछि सो जरिबाना गरिएको बोर्डले जनाएको छ ।मोटालाई गोपनीयता हनन गरेको विषयमा ईयूले लगाएको यो जरिबाना अहिलेसम्मकै धेरै हो । युरोपको सिग्नेचर डाटा गोपनीयता कानुन ‘सामान्य डाटा संरक्षण नियमावली’ उल्लंघन गरेको आरोपमा मेटालाई जरिबाना गरिएको हो ।
यसअघि गोपनीयता चुहावट गरेको विषयमा लक्जम्बर्गले ‘अमेजन इंक’लाई ७८ करोड ६० लाख यूरो जरिबाना गरेको थियो ।मेटाले विज्ञप्ति जारी गरेर ईयूको कदमविरुद्ध अपील गर्ने जनाएको छ । उसले यो विषयमा अदालत जाने समेत स्पष्ट पारेको छ ।