दोलखा,चैत २७
दोलखाको बैतेश्वर गाउँपालिकाको दुईवटा वडाले रातिको समय धैरे सवारी गाउँ भित्रिएर गाउँमा अनावश्यक होहल्ला गर्ने तथा कोरोनाको संक्रमण ल्याउने भन्दै सीमा नाका बन्द गरेका छन् ।बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काल्थोक र वडा नम्बर ५ को बगर जोड्ने मुख्य ग्रामीण नाका बन्द गरिएको हो ।
विश्वभर तीव्ररूपले फैलिरहेको कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले दुई वडाको मुख्य ग्रामीण सडक बन्द गरिएको वडाअध्यक्षहरूले बताएका छन् । दुई वडाका करिब २५ जना युवाको सक्रियतामा वडा वडाअध्यक्षहरूसँग समन्वय र सहमति गरेर दुई वडा जोड्ने मुख्य ग्रामीण सडक नाका बन्द गरिएको वडा नम्बर चारका वडा अध्यक्षकुमार चौलागाईंले बताए ।
रातिको समय धेरै सवारी साधनमा मान्छेहरू मुख्यसडक छोडेर ग्रामीण सडक प्रयोग गरी गाउँ छिर्ने तथा गाउँका स्थानीयलाई अनावश्यक हल्ला गरी थर्काउने गरेकोले नाका बन्द गरिएको वडा नम्बर पाँचका वडा अध्यक्ष माधव बस्नेतले बताए । वडा नम्बर चारका स्थानीय अनिल दाहालका अनुसार हरेक राति ग्रामिण सडक हुँदै दैनिक सात÷आठवटा सवारी साधन मुख्य सडक छाडेर गाँउ भित्रिने गरेका छन् । युवाहरूले सिमानामा रुख ढाली मुडा तेस्राएर सडक बन्द गरेका छन् ।
गाउँमा नयाँ मान्छे आउने जाने क्रम नरोकिएकाले बिरामीको लागी छुट्टै व्यवस्था मिलाएर दुई वडाको नाका बन्द गरिएको वडा नम्बर ५ का युवा केशव दाहालले बताए । बैतेश्वरका दुई वडाले अहिले दुई वडामा देखापरेका बिरामीलाई अस्पतालसम्म लैजानका लागि सिमामा स्टेचर र बोलेरो गाडी सीमा पारी बोलाउने गरेका छन् ।
बन्द गरिएको नाकामा बिरामी स्टेचरमा बोकेर पारी तार्ने र अर्को वडाको सिमाना सवारी बोलाएर अस्पतालसम्म बिरामी लैजाने व्यवस्था मिलाएर नाका बन्द गरिएको वडा नम्बर चारका युवा अनिल दाहालले बताए । सरकारले लकडाउन खुला गरेपछि मात्र दुई वडाको ग्रामीण नाका खोलिने दाहालले बताए । अब कुनै पनि सवारी साधनलाई गाउँ छिर्न नदिन सिङ्गो गाउँले योजना बनाएर नाका बन्द गरेको स्थानीयहरूले बताएका छन् ।