सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई सिनेमाको टिकटमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रञ्जना सिनेप्लेक्समा टिकट खरिदमा पाँच प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, तीन वटा विस्तारित काउन्टर, एक सय ३९ वटा एटीएम, छ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।