लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर आठ दशमलव सात प्रतिशतमा झरेको छ । अप्रिल महिनामा कायम भएको यो मुद्रास्फीति आठ महिनायताकै सबैभन्दा कम हो ।
राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले गतवर्षको अगस्टपछि पहिलो पटक मुद्रस्फीति १० प्रतिशतभन्दा तल झरेको उल्लेख गरेको छ । मार्चमा मुद्रास्फीति १० दशमलव एक प्रतिशत थियो ।
उर्जाको मूल्य एक वर्षयताकै कममा झरेपछि मुद्रास्फीति पनि क्रमशः नियन्त्रणमा आएको ओएनएसको भनाइ छ । मार्चमा बेलायतको वार्षिक मुद्रास्फीति आर्थिकरुपमा सम्पन्न मुलुकको समूह जी–सेभेन समूहका देशहरुमध्ये सबैभन्दा धेरै थियो । बेलायत सरकारले यो वर्षको अन्त्यसम्म मुद्रास्फीति लगभग पाँच प्रतिशतमा झर्ने दाबी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायतको अर्थतन्त्र यसवर्ष शून्य दशलमव चार प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो ।