काठमाण्डौं,चैत २८
विश्वभरि महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लगाएको तीनहप्ते बन्दाबन्दीको असरले मुलुकको दैनिक जनजीवन थप प्रभावित हुँदै जान थालेको छ । लकडाउनका कारण किसानहरूले खेतबारीमा लगाएको अन्न बालीसमेत राम्रोसँग भित्र्याउन सकिरहेका छैनन् । के तराई, के पहाड दुवै ठाउँमा अहिले किसानहरूलाई गहँु, जौ, तोरी, आलुलगायत बालीहरू भित्र्याउने चटारो छ ।
तर, पाकेको बाली भित्र्याउनको लागि जनशक्ति र सवारी साधनको अभावका कारण त्यसै अलमलिएर बस्नुपरेको छ । पाकेर तयारी अवस्थामा पुगेको अन्नबालीसमेत जनशक्तिको अभावमा भित्र्याउन नसकेको गुनासो किसानहरूले गरेका छन् । किसानले यो सिजनमा पाकेको बाली घरमा भित्र्याएर अर्को बाली नआएसम्म पु¥याएर खाने समय हो ।यतिबेला खेतबारीमा मल बोक्ने र मकै रोप्ने चटारो किसानहरूलाई छ । तर, मल बोक्नको लागि आवश्यक सवारी साधन छैनन ।
भएका सवारी साधनका चालकहरू पनि आफ्नै गाउँघरमा लकडाउनमा परेर आवतजावत गर्न पाएका छैनन् । सहर बजारमा रोजगारीका लागि बसेकाहरू पनि घर फर्कन पाएका छैनन् । यति लामो समय लकडाउन होला भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । एक हप्तामा लकडाउन खुला र घर जाउँला भनेर बसेकाहरू पनि आशको आशमा नै बसिरहेका छन । सवारी साधनको अभावमा आफ्नो घर फर्कन नपाएकाहरू सहर बजारमा भोकभोकै पर्न थालेपछि अहिले हिँडेर नै घर फर्किन थालेका छन् । उनीहरू घर पुगेपछि गाउँघरले केही राहत महसुस गर्नेछ र अन्नबाली भित्र्याउन पनि सहयोगी हुने अनुमान लगाउन सकिन्छ ।
तराईका अधिकांश जिल्लाहरूमा खेती लगाउने र बाली भित्र्याउने सिजनमा छिमेकीमुलुक भारतबाट काम गर्नको लागि ठूलो जमात लर्को लागेर आउने गर्दछन् । तर, अहिले एकातिर महामारीको डर र अर्कोतर्फ दुवै मुलुकले बोर्डर क्षेत्रलाई सिल गरेर ओहोरदोहोर गर्न बन्द गरिदिएपछि यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् । कामदार अभावका कारण खेतबारीमा पाकेर घर भित्र्याउन तयार भएको अन्नबाली खेतबारीमा ठाडै सुक्न थालेको समाचारहरू सार्वजनिक भइरहेका छन् । घरमा भएको जनशक्ति कमाउन भन्दै वैदेशिक रोजगारीमा गएको र ऊ पनि यही संक्रमणको त्रासले घर फर्कन पाएको छैन ।
यता घरमा भएका बुढाबुढीहरूले मात्र पाकेको बाली भित्र्याउन सक्ने अवस्था छैन । ज्याला दिएर काम लगाउँदै आएकाहरूले पनि श्रम गर्न आउने मानिस नै नभएपछि कसलाई काममा लगाउने उनीहरू अन्योलमा रहेका छन् । किसानहरूले पालेका पशु चौपायाहरू हालत पनि त्यस्तै छ । सार्वजनिक सवारी साधन नचलेका कारण उनीहरूले घाँस पराल र दानाको जोहो गर्न सकेका छैनन् । घाँस र दाना अभावको कारण पशु चौपायाहरू भोकभोकै पर्न थालेको बताइएको छ । कतिसम्म भने डकडाउनको सुरुवाती दिनमा किसानहरूले सजिलो गरी दुधसमेत बेच्न पाएनन् ।
काभ्रेको पाँचखाल नगरपालिका पशुपालक किसान माधव चौलागाईंले लकडाउनको सुरुवाती दिन चैत्र ११ र १२ गते दुई दिन दुधसमेत बेच्न सकेनन् । दुई दिन दुध बेच्न नपाएपछि दुध जमाएर मोही पारी त्यसबाट निस्केको घिउ बेचेर पशुचौपायको दानाको जोहो गर्नुपरेको उनले बताए । ‘हामी त दैनिक दुध बेचेर घरपालुवा गाईभैँसीलाई चाहिने आवश्यक दाना पानीको जोहो गरिरहेको थियौँ । एक्कासी लकडाउन भएपछि उनीहरूलाई चाहिने आवश्यक मात्रामा दानापानी र घाँसको व्यवस्थापन गर्न सकेनौँ’, उनको भनाइ छ । उनीसँग अहिले गाई, भैँसी र खसीबाख्रा गरी दुई दर्जनको संख्या छ ।
आवश्यक मात्रामा चोक्कर दाना र पराल ल्याउन नपाएपछि अहिले तिनै चौपाया घाँडो हुन थालेका छन् । खेतबारीमा लगाएको बाली घरसम्म ल्याउनको लागि पनि सवारी साधनको अभावले गर्दा ल्याउन सकिएको छैन । खेतबारीमा त्यतिकै थन्काएर राख्नुपरेको छ । महामारीको त्रास कम भएपछि ल्याउने भनेर बसेका उनीहरू लकडाउन थपिँदै गएपछि थप चिन्तित भएका छन् । आफ्ना घरमा भएका बलिया छोरानाति पराइको भूमिमा अहिले बिचल्लीमा परेर बस्नुपरेको छ ।
विदेश कमाउन गएकाहरू पनि चाहेर पनि घर फर्किन पाएका छैनन् । रोग सर्ने डरले सरकारले उनीहरूलाई स्वदेश नर्फक आदेश नै जारी गरेको छ । आगामी वैशाख १९ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाइ यातयातलाई रोक लगाउने घोषना भइसकेको छ । यसकारण पनि उनीहरू उतै बस्न बाध्य छन् ।