काठमाडौँ, चैत २८
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधि अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहलाई हस्तान्तरण गरे ।
साथै अस्पतालको वार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पठाउनु भएको शुभकामना सन्देश प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.सिंहले वाचन गरेका थिए ।
कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।