काठमाडौं । सुनकोसी गाउँपालिका वडा नं. ३ सिन्धुपाल्चोक निवासी ८८ वर्षीय देवीनाथ प्याकुरेलले कान्छी छोरी स्वर्गीय प्राडा उर्मिला प्याकुरेलको स्मृतिमा ५० लाख रुपैयाँको अक्षय कोषसहितको प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान घोषणा गरेका छन् ।
स्वर्गीय प्याकुरेलको निधन भएको ४५ दिनको पुण्य तिथिका दिन शनिबार परिवारबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त कोषसहितको प्रतिष्ठान स्थापना गर्ने घोषणा गरिएको हो । त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागमा अध्यापनरत प्रा.डा. प्याकुरेलको गत चैत्र २९ गते ४२ वर्षको उमेरमा निधन भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि तथा अलेक्जेन्डर फन्ड हम्बोल्ड फाउन्डेसन जर्मनीमा महाविद्यावारिधि अनुसन्धारत तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट सन् २०१६ मा युवा वैज्ञानिक पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् । ४० वर्षकै उमेरमा प्राध्यापक हुन सफल उनी त्रिभुवन विश्वविद्यालयमा कान्छी प्राध्यापकको रूपमा चिनिन्छिन् ।
उनी विगत सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय किमोथेरापी प्रविधिले स्वास्थ्यमा सुधार नभएपछि इमिनुथेरापी प्रविधिको प्रयोग गर्न चिकित्सकले सल्लाह दिए पनि अत्यधिक महंगो प्रविधिका कारण स्वयम् स्वर्गीय प्याकुरेलले आर्थिक सहयोगको लागि सार्वजनिक रूपमा आह्वान गरेकी थिइन् । करिब एक महिनामा ५६ लाख १४ हजार दुई सय २३ रुपैयाँ सहयोग संकलन भएको थियो । त्यसमध्ये सात लाख ६४ हजार आठ सय ५३ रुपैयाँ खर्च भई बाँकी रहेको रकम ४९ लाख १७ हजार तीन सय ७० मा नपुग रकम परिवारबाट थप गरी ५० लाख रुपैयाँको अक्षय कोषसहितको प्रतिष्ठान घोषणा गरिएको हो ।
प्रतिष्ठानले स्थापित कोषबाट प्राप्त ब्याज रकमबाट विश्वविद्यालयमा अनुसन्धानको क्षेत्रमा योगदान अनुसन्धानकर्ताहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्ने, साहित्यिक क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गर्नुका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने एवं स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना रहेको छ । प्रतिष्ठानको नेतृत्व त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्राडा टंकनाथ धमलाले गर्नेछन् । श्रद्धाञ्जली कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा, पूर्वमन्त्री अरुण नेपाल, त्रिभुवन विश्वविद्यालयका प्राडा टंकनाथ धमला, प्राडा हेमनाथ पौडेल एवं उर्मिलाका चिकित्सक डा. राजेन्द्र बराललगायतले उर्मिला प्याकुरेलको जीवनी, अनुसन्धान र साहित्यिक क्षेत्रमा उनले पु-याएको योगदानलगायतका विषयमा स्मरण गराएका थिए ।