सन् २०२३ को पहिलो चार महिनामा चीनको औद्योगिक नाफा २० दशमलव छ प्रतिशतले घटेको छ । चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनका प्रमुख औद्योगिक कम्पनीहरुको नाफा घटेको हो ।
एनबीएसले कम्तीमा २० मिलियन युआनको वार्षिक व्यापार राजस्व भएका औद्योगिक फर्महरुको कुल नाफा दुई दशमलव शून्य तीन ट्रिलियन युआन पुगेको जनाएको छ ।
चार महिनामा ४१ मुख्य उद्योगमध्ये १३ वटाको नाफा बढेको छ । बाँकी २८ उद्योगहरुको नाफामा गिरावट आएको छ । विद्युत् र आपूर्ति क्षेत्रको नाफा ४७ दशमलव दुई प्रतिशतले बढेका छ भने विद्युतीय मेसिनरी तथा उपकरण उत्पादन उद्योगको नाफा ३० दशमलव एक प्रतिशतले बढेको छ ।
सरकारले सहयोग गरेका कारण उपकरण उत्पादन उद्योगको नाफा वर्षैपिच्छे २९ दशमलव ८ प्रतिशतले बढेर गिरावटबाट वृद्धितर्फ उन्मुख छ । औद्योगिक फर्महरुको सबैभन्दा ठूलो हिस्सा ओगटेको यो क्षेत्र छ दशमलव चार प्रतिशतले बढेको देखिन्छ । तर बाँकी क्षेत्रमा अझै पनि निराशाजन नाफा हुँदा समग्र औद्योगिक क्षेत्रको नाफामा गिरावट आएको हो ।
एनबीएसका वरिष्ठ तथ्यांकविद् सन सियाओले अर्थतन्त्रले आफ्नो रिकभरीलाई तीव्रता दिए पनि औद्योगिक कम्पनीहरुले भोग्नुपरेको चुनौती र बाहिरी अनिश्चितताका कारण नाफामामा गिरावट आएको बताए । व्यावसायिक संस्थाहरुको जीवन शक्तिलाई उत्प्रेरित गर्न लक्षित नीतिहरु आवश्यक रहेको सनले बताए । ग्रेटर चाइना अफ जेएलएलका प्रमुख अर्थशास्त्री एवं अनुसन्धान प्रमुख ब्रुस प्याङले भने चौथो त्रैमाससम्म औद्योगिक क्षेत्रको नाफा सकारात्मक बन्ने अनुमान गरेका छन् ।