काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसमा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका १७ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।
समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्नु पर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीहरु जो कोही हुन कानुन सम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको समाजले जनाएको छ ।