काठमाडौं । सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्ने बताएका छन् । उनले भने, ‘त्यो अढाइ वर्षको बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’ उनले त्यसका लागि आफूले पनि सघाउने बताए ।
आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने पनि बताए । चौधरीले टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए । उनले भने, ‘टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्छ । टिकापुर घटनालाई आफ्नो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ, जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो । राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ ।’
टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुने उनले बताए । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भइ आजीवन काराबासको सजाय पाएका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन् ।