काठमाडौं । निरङ्कुशतन्त्रविरुद्ध जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
उनले सोमबार गणतन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताएका हुन् । राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गरेका छन् ।
जारी विज्ञप्तिमा समाजवादमा सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि उनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।