काठमाडौं । नेता तथा कार्यकर्ताहरूलाई पार्टी सुधारका पक्षमा होमिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् । कांग्रेस ललितपुरले सोमबार गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ।’
‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो भने कसैले पनि रोक्न सक्दैन,’ थापाले भने । उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट सबै मानिसले गर्नुपर्ने बताएका छन् । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्ने उनले बताए । उनले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु । म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री पद गए जाओस् ।’