काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।
नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ ।
भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महहत्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ ।