सबैभन्दा खराब असर माल्दिभ्समा हुनेछ जहाँ पर्यटन क्षेत्रको नोक्सानीको परिणामस्वरूप सकल घरेलु उत्पादन १३ प्रतिशतले संकुचित हुनेछ, जबकि अफगानिस्तान ५.९ प्रतिशत र पाकिस्तानको २.२ प्रतिशतले संकुचित हुनेछ । वित्तीय वर्ष अप्रिल १ बाट शुरु हुने दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको चालू आर्थिक वर्षमा १.५ देखि २.८ प्रतिशत मात्र वृद्धि हुने अनुमान विश्व बैंकको छ । भारतमा भर्खरै समाप्त भएको आर्थिक वर्षमा ४.८ देखि ५.० प्रतिशतको आर्थिक वृद्धि भएको थियो । – असमानता – बैंकको प्रतिवेदनमा महामारीले यस क्षेत्रमा आर्थिक असमानतालाई बढावा दिने उल्लेख छ । महामारीका कारण स्वास्थ्य सेवा वा सामाजिक सुरक्षामा सीमित वा कुनै पहुँच नभएका अनौपचारिक क्षेत्रका कामदारहरूलाई सबैभन्दा बढी असर पार्नेछ ।
उदाहरणका लागि, विश्वको सबैभन्दा ठूलो तालाबन्दी खेपेको भारतमा लाखौं प्रवासी कामदार आफ्नो गाउँमा फर्कन बाध्य भएका छन् । सवारी साधनको उचित प्रबन्ध नभएका कारण कैयौं कामदार पैदलै हिँडेर गाउँ पुगेका छन् । क्षेत्रका सरकारहरुले “स्वास्थ्य सेवाको उचित प्रबन्ध गर्न, विशेष गरी अत्यन्त गरिब र सबैभन्दा जोखिममा पर्ने मानिसहरुलाई बचाउन चाँडो कदम चाल्नु पर्नेछ र द्रुत आर्थिक सुधारका लागि तत्काल योजना बनाउनु पर्दछ,” विश्व बैंकले भनेको छ ।
तत्कालका निम्ति स्वास्थ्य सेवामा सुधार गर्नु, सुरक्षात्मक उपायहरु उपलब्ध गराउनु तथा सबैभन्दा कमजोरहरूका लागि खाना, स्वास्थ्य सामग्रीको आपूर्ति र अति आवश्यक क्षेत्रमा बलियो पहुँचको अवस्था सिर्जना गर्नु पर्दछ । विश्व बैंकले आप्रवासी कामदारहरूको लागि अस्थायी कार्यक्रम ल्याउन, व्यवसाय एवं व्यक्तिको कर्जामा सहुलियत तथा अत्यावश्यक सामग्रीको आयात निर्यातमा प्रशासनिक झन्झट हटाउन पनि सल्लाह दिएको छ । संकट हट्नासाथ सरकारहरूले तुरुन्तै “नवीन नीतिहरू” अनुसरण गर्न र अर्थतन्त्रलाई अगाडि बढाउन आवश्यक छ, बैंकको भनाई छ । विश्व बैंकले “व्यापक एवं द्रुत” ढंगबाट काम थालिसकेको छ । गरिबी एवं जोखिममा परेकाहरु राष्ट्रहरुका लागि बैंकले आगामी १५ महिनामा १६० अर्ब डलरसम्मको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ ।