काठमाडौं । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न एक करोड रकम संकलन भएको छ । सेवा केन्द्र सञ्चालनको लागि सहयोगार्थ आयोजना गरिएको श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा उक्त रकम संकलन भएको हो ।
गत जेठ ७ गतेदेखि १५ गतेसम्म चलेको महायज्ञमा उपस्थित विभिन्न भक्तजन तथा व्यक्तिबाट नगद एक करोड चार लाख रकम संकलन भएको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मिक पर्यटकीय स्थानको रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजक गरिएको थियो । त्यसैगरी जिल्लाका नौवटा स्थानीय तहले आगामी बजेटमार्फत एक करोड बराबरको अक्षयकोष स्थापना गरी सेवा केन्द्र सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
महायज्ञमा सबैभन्दा बढी रकम गैरीमुदीकी शारदा उप्रेती घिमिरेले गरेकी छिन् । उनले १५ लाख दुई हजार रुपैयाँ हस्तान्तरण गरेको आयोजकले जनाएको छ । विभिन्न व्यक्ति र पालिकाको घोषणाअनुसार रकम दिए अक्षय कोषमा दुई करोड ४ लाख रुपैयाँ जम्मा हुने आयोजकको भनाइ छ ।