काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्नका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरी लगानी गर्न आग्रह गरेको हो ।
हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबीच सहकार्य गर्नसमेत अध्यक्ष मल्लले हायसँग प्रस्ताव गरे । उनले भने, ‘दुई मुलुकबीच कूटनीतिसँगै उच्चस्तरीय व्यापारिक साझेदारी हँुदै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरू पनि प्रशस्त हुनुहुन्छ । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आर्कषित गर्न सकिन्छ, ।’
चेम्बर पदाधिकारीहरूसँगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धि गर्न सहयोग गर्ने हायको भनाइ छ । हायसँगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दिपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।